ताप्लेजुङको हाङपाङमा साढे चार दशकअघि जन्मेका नवराज सुब्बा उमेरमै लागिपरेको भए अहिले नेपाली साहित्य-सङ्गीत क्षेत्रमा वरिष्ठमा दरिन्थे । गाउँमा हुर्केर त्यहींको शिक्षा-दीक्षा पाएका सुब्बाले साहित्य/सङ्गीतलाई पनि पढाइजत्तिकै प्रिय बनाएका थिए । पढाइमा अब्बल रहेका सुब्बालाई विद्यालयका शिक्षकहरुले पनि हौस्याउँथे । उच्च अध्ययनका लागि काठमाडौंमा पुगेपछि उनले आफ्नो गाउँले अनुभवकै आधारमा सी.के. रसाइलीको सङ्गीतमा 'आज मलाई मेरो आँगन' बोलको गीतबाट वि.सं. २०३४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।
त्यसबेला रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नु भनेको निक्कै ठूलो कुरा हुन्थ्यो । त्यसपछि उनमा पनि गायक बन्ने रहर नपलाएको होइन । तर पनि आफ्ना आमाबाबुको सपना साकार पार्न उनले पढाइलाई नै निरन्तरता दिने निधो गरे ।
त्यसबेलाको नेपाली संगीत तथा साहित्य त्यति व्यवसायिक पनि भइसकेको थिएन । बीचमा २०३८ सालमा उनले आफैले संकलन गरेको लोकगीत 'विवशताले बाँधिएको' लाई सूर्य थुलुङको आवाजमा रेकर्ड गराए । त्यसपछि रेकर्डिङको लागि समय पाउन चाप्लुसी गर्नुपर्ने प्रवृत्तिबाट वाक्क भएर त्यसपट्टि उनको ध्यान नै गएन । पढाइ सकिएपछि आफ्नै गाउँ-ठाउँमा सेवा दिने उद्देश्यले फर्किएका उनी गाउँकै हेल्थपोष्टमा इञ्चार्ज भए । समय बित्दै जाँदा उनलाई जागिरे जीवनले यति व्यस्त बनायो कि आफ्ना रचनाहरु पाठक तथा स्रोतामाझ ल्याउने इच्छा पूरा गर्न सकेनन् । बाहिर नल्याए पनि फूर्सदमा कोरेका उनका रचना असंख्य छन् । अब भने उनी ती रचनालाई निरन्तर प्रकाशन गर्ने जमर्कोमा छन् ।
आमा नरमाया तथा बुवा आइतराजका सुपुत्र नवराज हाल झापा जनस्वास्थ्य कार्यालयको प्रमुख छन् । यसबीचमा उनले विराटनगरमा स्थायी बसोबासको व्यवस्था गरिसकेका छन् । एम.पी.एच. र एम.ए. को ड्रि्री हासिल गरिसकेका सुब्बाले तीनदशकदेखिको जागिरे जीवनमा साठीको दशकमा मात्र आफ्नो रचना प्रकाशनतर्फ लागेका छन् । उनका जीवन मेरो शब्दकोषमा (२०६३), बीच बाटोमा ब्यूँझेर (२०६५) र मनको मझेरी (२०६४) र देशको माया (गीति सङ्ग्रह २०६६) प्रकाशित छन् ।
सानैदेखिको सौख समयमै पूरा गर्न नपाए पनि अहिले पुरानो चिनोको रूपमा भए पनि निकालुँ भनेर जोश पलाएको बताउने सुब्बा आफ्ना कृतिहरु क्रमशः प्रकाशन गर्ने मुडमा छन् । उनले भर्खरै र्सार्वजनिक देशभक्ति गीतहरुको आफ्नो एल्बममा आफ्नै अधबैसे स्वरमा जाँगर थप्दै 'यो ज्यानको माया' भन्दै गाउन समेत भ्याएका छन् ।

